समाचार

चीनबाट अत्यावश्यक मेडिकल सामग्री लिएर विमान काठमाडाैँ आइपुग्यो

काठमाडौँ, १६ चैत । कोरोना संक्रमण रोकथाम गर्न आवश्यक मेडिकल सामग्रीहरु लिएर नेपाल एयरलाइन्सको विमान काठमाडौँ आइपुगेको छ ।

चीनकाे ग्वान्झाउबाट १२.६६ टन मेडिकल सामग्री बोकेर विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । विभिन्‍न १९ थरी ती स्वास्थ्य सामग्री ग्वान्झाउसम्म चिनिया विमानबाटै सप्लाइ गरिएकाे थियाे भने त्यहाँबाट नेपाल एयरलाइन्सकाे विमानबाट आइतबार बिहान साढे ५ बजे त्रिभुवन विमानस्थलसम्म ल्याइएकाे हाे ।

स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) र कोरोना भाइरस परीक्षण किटनसहितका अत्यावश्यक स्वास्थ्य सामग्रीको पहिलो लट लिएर विमान चीनको ग्वान्झाउबाट काठमाडौँ आएको हो । पहिलो चरणमा ल्याइएका ती सामग्रीमा नेपाल सरकार आफैले खरिद गरेकाे लगायत चीनको सिचुवान प्रान्त, सिचुवान प्रान्तीय लगानी समूह र चिनियाँ दूतावास, ज्याक मा फाउन्डेसनलगायत संस्थाले नेपाललाई प्रदान गरेका रहेका छन् ।

यसअघि नेपालका लागि चिनिया राजदूत होउ यान्छीले दूतावासको सक्रिय समन्वयबाट सिचुआन प्रान्तीय सरकार, सिचुआन प्रान्तीय लगानी समूह र चिनियाँ दूतावासले सहयोगस्वरुप प्रदान गरेका आपतकालीन स्वास्थ्य सामग्रीहरू ग्वान्झाउबाट प्रस्थान गरिसकेको भन्दै ट्वीटरमा जानकारी गराएकी थिइन् । उनले चीनको ज्याक मा फाउन्डेशन र अलीबाबा फाउन्डेशनद्वारा प्रदान गरिएका मास्क, परीक्षण किटलगायत सामग्रीको पहिलो लट पनि उही उडानमा आइपुग्ने जनाएकी थिइन् ।

पर्यटन मन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्सको वाइडबडी जहाजमार्फत ती स्वास्थ्य सामग्री आइतबार बिहान साढे ५ बजे त्रिभुवन विमानस्थलमा ल्याइपुर्याएको जानकारी दिएका छन् ।

सरकारले करिब सवा एक अर्ब रुपैयाँ बराबरको स्वास्थ्य सामग्री ओबीसीआई प्राइभेट लिमिटेड कम्पनीमार्फत चीनसँग खरिद गरेको छ । मन्त्री भट्टराईका अनुसार नेपाल एयरलाईन्सले सामग्री ल्याउँदा लागेको कार्गो बापतको रकम सम्बन्धित कम्पनी/संस्थाले नै तिर्नेछन् ।

पहिलो लटमार्फत २० हजार थान पर्सनल प्रोटेक्टिभ इक्‍विपमेन्ट, २० हजार थान एन ९५ मास्क, १०० थान पोर्टेबल भेन्टिलेटर, २ हजार थाल मोनिटर २० वटा एबिजी मेसिन र २० वटा भाइरल डिटेक्टिङ पिसिआर मेसिन लगायत सामग्री ल्याइएको जनाइएको छ । ती सामग्री अब नेपाली सेनाकाे हेलिक्पटरबाट देशका अन्य ठाउँसम्म सप्लाइ गरिने बताइएकाे छ ।

Related Articles

Back to top button
Close