समाचार

लकडाउनमा थप कडाइ, काठमाडाैंबाट आज बिहानै २०७ जना पक्राउ

नवीन कुलुङ
काठमाडौं, १५ चैत । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण गर्न जारी गरेको लकडाउनमा आज पाँचै दिन थप कडाइ गरिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा लकडाउन पनि कडाइ गर्दै गएकाे हाे ।

लकडाउनको उल्लंघन गरेकाे आरोपमा आज (शनिबार) बिहानै काठमाडौंबाट २०७ जना पक्राउ परेका छन् । महानगरी प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा डीएसपी होविन्द्र बोगटीका अनुसार १९७ जना पुरुष र १० जना महिला पक्राउ परेका छन् ।

एसपी होविन्द्र भन्नुभयो, ‘आज बिहानको अप्रेसनमा १९७ जना पुरुष र १० जना महिला गरि जम्मा १०७ जना समातिएका छन् ।’ हिजाे शुक्रबार काठमाडाैंबाट ७६ जना पक्राउ परेकाे पनि उहाँले जानकारी दिनुभयाे ।

प्रहरीले अत्यावश्यक कामविना सडकमा ननिस्किन पनि सर्वसाधारणलाई आह्वान गरेको छ । अहिले सडकमा छिटफुट रुपमा हिँडडुल गर्ने बाहेक अरू देखिएका छैनन् । सवारी साधन पनि एकदमै कम चलेका देखिन्छन् ।

नेपालमा अहिलेसम्म चार जनामा कोरोनको भाइरस संक्रमणको पुष्टि भएको छ । चीनकाे वुहानबाट आएका एक विद्यार्थी भने पूर्ण रुपमा निको भइसकेका छन् । अरु तीन जनाको भने देशकाे विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखिएपछि गत आइतबार स्वास्थ्य मन्त्रालयले त्यसको जानकारी दिएको थियो । त्यसलगतै सरकारले देशभर लागू हुनेगरी चैत १८ गतेसम्मका लागि लकडाउनको घोषणा गरेको छ।

Related Articles

Back to top button
Close