समाचार

थारुले उठाए आवाज : ‘१७ हजार मान्छे मार्ने प्रचण्ड–बाबुरामलाई जेल हाल्नुपर्छ’

धनगढी – कैलालीको टीकापुरमा भएको आन्दोलनको सम्झनामा शनिबार आयोजित कार्यक्रममा बोल्दै थारु अगुवा सुरेन्द्र चौधरीले थारुको आवाज उठाउने रेशम चौधरीले जेलमुक्त नगर्ने हो भने १७ हजार मान्छे मार्ने प्रचण्ड–बाबुरामलाई पनि जेल हाल्नुपर्ने बताएका छन् ।

टीकापुर घटनाको ४ वर्ष पुगेको दिन शनिबार थरुहट/थारुवान संयुक्त संघर्ष समितिले टीकापुरमा थरुहट/थारुवान राष्ट्रिय सम्मेलन शुरू गरेको छ । कार्यक्रममा बोल्दै चौधरीले थारु बहुल क्षेत्रको सीमांकन नगरिएसम्म वास्तविक सद्भाव कायम नहुुने ठोकुवा गरेका छन् ।

उनले नेकपा नेता लेखराज भट्ट, भीम रावल थरुहटका खलनायक रहेको आरोप लगाउँदै अधिकारको लागि गरिएको भनिएको १० वर्षे जनयुद्धमा १७ हजार जनता मार्ने आन्दोलनका अगुुवा प्रचण्ड–बाबुराम भट्टराई पनि जेल जानुुपर्ने तर्क गरे । ‘होइन भने आन्दोलन गरेकै भरमा आजीवन जेल जीवन बिताइरहेको रेशमलाल चौधरीलाई अबिलम्ब रिहाइ गर्नुपर्छ,’ उनले भने ।

कार्यक्रमको उद्घाटन सत्रमा सहभागी नेताले थरुहट आन्दोलन उत्पीडनको उपज भएको बताएका छन् । कार्यक्रमको प्रमुख वक्ता समेत रहेका संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान पूर्ण नभएको भनाइ राखे । ‘आफैंले बनाएको संविधान भएपनि संविधान आधा पानी भरिएको गिलासजस्तै भएको छ,’ उनले भने ।

नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन वैद्य ‘किरण’ले राज्यले तत्काल प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीलाई जेलमुक्त गनुपर्ने माग गरेका छन् ।

कार्यक्रममा राजपाका अध्यक्ष मण्डलका सदस्य लक्ष्मणलाल कर्ण, पूर्व राजदूत विजय कर्ण, वरिष्ठ पत्रकार किशोर नेपाल, लेखक खगेन्द्र संग्रौला, कांग्रेस नेता सुरेन्द्र चौधरी, थरुहट नेता लक्ष्मण थारु, अधिवक्ता शंकर लिम्बु, समाजशास्त्री डा. ओम गुरुङ लगायतले सम्बोधन गरेका थिए ।

सम्मेलनको दोस्रो दिन आईतबार बन्दसत्र चल्ने छ भने तेस्रो तथा अन्तिम दिन भदौ ९ गते टीकापुर घोषणापत्र जारी गर्दै सम्मेलन सम्पन्न हुने जनाइएको छ ।

Related Articles

Back to top button
Close