समाचार

हाम्रै पार्टीभित्र पनि सार्वजनिक सम्पत्ति हडपेर मज्जा मान्नेहरु छन् : कार्यवाहक प्रधानमन्त्री पोखरेल

काठमाण्डौ – कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति सुरक्षाको विषय गम्भीर र चुनौतीपूर्ण बन्दै गएको बताउनुभएको छ ।काठमाण्डौ महानगरपालिका वडा नम्बर ४ मा प्रदेश सरकारद्वारा निर्माण गरिएको पार्कको उद्घाटन गर्दे उहाँले सार्वजनिक सम्पत्तिको सुरक्षा नै मुख्य चुनौतीको विषय बनेको बताउनुभएको हो । उहाँले देशभर नै सार्वजनिक सम्पत्ति हडप्ने प्रवृत्ति देखिएको र त्यो प्रवृत्ति पार्टीभित्रै पनि देखिएको संकेत गर्नुभयो ।

उहाँले सार्वजनिक जग्गा उपभोग गर्न खोज्ने व्यक्तिको नाम भने उल्लेख गर्नुभएन । उहाँले भन्नुभयो, ‘अहिले एउटा हाम्रो अगाडि चुनौती छ। सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने ? हामीहरुभित्रै समस्या छन् । म तपाईँहरुलाई तोकेर भन्न चाहन्नँ । हामीभित्रै समस्या छन् । सार्वजनिक सम्पत्ति व्यक्तिले लिन पाए, कब्जा गर्न पाए, उपभोग गर्न पाए, मज्जा मान्ने चिन्तन र प्रवृत्तिहरु छन् । यो गलत चिज हो । यसको विरुद्ध जुध्नुपर्छ । सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सबैको कर्तव्य हो ।’

काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भूकम्पले क्षतिग्रस्त बनेका सम्पदाहरुको पुनर्निर्माणको कामले गति लिएको भन्दै सहयोग र सहकार्यमा सहभागी हुन नगरबासीलाई आग्रह गर्नुभयो ।

धरहरा पुनर्निर्माणको काम संघीय सरकारद्वारा पुननिर्माण प्राधिकरणले अघि बढाइसकेको तथा रानीपोखरी र काष्ठमण्डप पुनर्निर्माणको काम पनि धमाधम भैरहेको भन्दै पुनर्निर्माणको काममा अवरोध पुर्‍याउने काम कहीँ कतैबाट गर्न नहुनेतर्फ सचेत गराउनुभयो ।विगतमा विभिन्न बहानामा हुने गरेका विरोधले पुनर्निर्माणका काममा समस्या भएको गुनासो पनि उहाँले गर्नुभयो ।

Related Articles

Back to top button
Close