मनोरंजन

भद्र सुभद्रा

संगीत, नृत्य र अभिनय सुभद्राको रगतमै थियो सायद। उनकी आमा नूरादेवी शास्त्रीय गायनमा सक्रिय थिइन्। नेपाली रंगमञ्च र चलचित्र जगत्की सुविख्यात कलाकार एवं उच्चतम दर्जाकी नृत्यांगना सुभद्रा अधिकारीको ७३ वर्षको उमेरमा दमको पुरानो रोगबाट गत हप्ता काठमाडौंमा निधन भएको छ। नेपाली कलाजगत्की एक उज्ज्वल नक्षत्र र हाम्रो परिवारकी पनि अत्यन्त आदरणीय र प्रिय सुभद्रा दिदीले आफ्नो अनित्य चोला त्याग गरेर महाप्रस्थान गरेको त्यो दुःखद समाचार मलाई मेरी अर्धांगिनी प्रभाले भदौ १ गतेका दिन बिहान सबेरै फोन गरेर सुनाएकी थिइन्। यो अप्रिय खबर सुनाइरहँदा प्रभाको स्वर अस्वाभाविक किसिमले धोत्रो सुनिएको थियो। उनको सारा शरीर कामिरहेको र त्यस आन्तरिक कम्पनले उनको आवाजलाई विकृत बनाएको जस्तो लागेर म अलिकति चिन्तित पनि भएको थिएँ।

‘सौभाग्यवती, तिमीलाई सन्चो छैन कि कसो ? ’ मैले स्थितिलाई हल्का पार्ने असफल कोसिस गर्दै सोधेको थिएँ।

‘मलाई ठिकै छ, त्यस्तो केही भएको छैन। हेर्नोस् न, अचानक सुभद्रा दिदी…’ वियोगको पीडाले रन्थनिएकी प्रभा आफ्नो यो वाक्यलाई अधुरै छोडेर अडिई अडिई, मलिन स्वरमा रुन थालेकी थिइन्।

फोनमा सुनिएको प्रभाको प्रकम्पित स्वर र मलिन क्रन्दनले उनको हृदयमा गहिरो पीडा र वेदनाको लहर उठिरहेको छ भन्ने कुराको पुष्टि गरिरहेका थिए। प्रभालाई सुभद्रा दिदीको निधनको त्यस दुःखद समाचारबाट गहिरो मानसिक धक्का लाग्नुलाई एकदमै स्वाभाविक मान्दछु म। उनको आत्मवृत्तान्तको पुस्तक ‘कलाकार सुभद्रा अधिकारी : जीवनगाथा’को परिमार्जन र दोस्रो संस्करण प्रकाशनको तयारीका सन्दर्भमा मेरो र सुभद्राजीका बीच सम्पर्क भई बारम्बार कुराकानी हुन थालेको केही दिनमै प्रभाको पनि दिदीसँग फोनमा परिचय भएको थियो। त्यसपछि छिट्टै नै ती दुई अधिकारी भद्र महिलाहरू सहोदर दिदीबहिनीजस्तै नजिकका साथी बनेका थिए। ती दुईको परस्पर देखाभेटको अवसर त जुरेको थिएन तर उनीहरू दिनैपिच्छे जस्तो फोनमा लामो कुराकानी गरिरहेका भेटिन थालेका थिए।

ती दुई दिदीबहिनीका बीच हुने त्यस्ता वार्तालापहरूका क्रममा सुभद्रा दिदी प्रभासँग प्रत्यक्ष भेट हुन नसकिरहेको कुरालाई लिएर गुनासो गरिरहन्थिन्। डल्लु, स्वयम्भूको आफ्नो घरमा प्रभालाई बोलाएर मीठामीठा परिकार बनाएर ख्वाउने अनि ‘दुई दिदीबहिनी आरामले बसेर धीत मरुन्जेल गफिने’ उनको ठूलो इच्छा थियो। आफ्नो त्यो स्नेहपूर्ण चाहनाबारे प्रभासँग मात्र होइन, मसँग पनि धेरै पटक कुरा गरेकी थिइन् दिदीले। एक पटक त ‘बाबु मोटरसाइकल चलाउनुहुँदो रहेनछ भैगो, ट्याक्सी पाइएला नि त्यता, ट्याक्सीमै आउनोस् बहिनीलाई लिएर। भाडा जति लाग्छ म दिन्छु’समेत भनेकी थिइन् उनले। सुभद्रा दिदीको मेरो परिवारप्रतिको स्नेह र उदारता देखेर म कृतकृत्य भएको थिएँ। के तारतम्य नमिलेर हो कुन्नि प्रभा र सुभद्रा अधिकारीको प्रत्यक्ष भेट गराउन भने सकेको थिइनँ मैले। अब त त्यो सम्भावना सधैंका लागि टरेर गएको छ। सुभद्रा दिदीसँग अब कहिल्यै भेट हुन सक्दैन भन्ने तीतो सत्यको बोधले हुनुपर्छ, प्रभाको हृदय विदीर्ण भएको थियो।

प्रभाले सुनाउनुअघिसम्म मलाई सुभद्रा दिदीको अवसानको त्यो दुःखदायी खबरबारे केही पनि थाहा थिएन। पीडालाई घाँटीमै दबाउन कोसिस गरिरहेकी उनीबाट त्यस दिन बिहान सबेरै त्यो निक्कै नराम्रो समाचार सुनेपछि मैले सामाजिक सञ्जाललाई खोतलखातल पारेको थिएँ। परिचित, अपरिचित धेरै जनाको फेसबुक स्टेटस र ट्विटरमा सुभद्रा दिदीको अत्यन्त सुन्दर फोटोसहित अन्तिम बिदाइको त्यो समाचार छापिएको देखेर म स्तब्ध भएको थिएँ। दिदीको स्वास्थ्यस्थिति खराब रहँदै आएको धेरै दिन भइसकेको कुरा मलाई थाहा थियो तापनि यति छिटो र यस्तो अचानकसँग उनको देहावसानको समाचार सुन्नुपर्ला जस्तो भने मलाई पटक्कै लागेको थिएन। एक महिनाजति पहिले दिदीसँग भएको दूरभाषवार्तालाई सम्झिएँ मैले।

‘हरि बाबु, आज अचानक तपाईंको धेरै याद आएकाले फोन गरेकी। फर्कनुभयो कि भनेर घरमा सम्पर्क गरेकी थिएँ। आशु बाबुले पो बुवा त फर्कनुभएको छैन नि अन्टी। फेसबुक मेसेन्जरमा कल गर्नोस् न भनेपछि गरिहेरेको ठ्याक्कै पो लाग्यो त, के छ खबर बाबु तपाईंको ? तपाईं, बहिनी, बाबुहरू सबैलाई आराम नै होला क्या रे’ दमको पुरानो रोगले थकित सुभद्रा दिदीको स्वर सुनेर सुखद आश्चर्यमा परेको म एकछिन त बोल्नै सकेको थिइनँ। दिदीको सीमातीत स्नेहको मधुर आँचलाई हृदयभरि समेट्न खोजिरहेको मैले मुखबाट सानोभन्दा सानो कुनै आवाज निकालेँ कि त्यो गहन आनन्द हावाको आवारा झोक्काजस्तो अनन्तमा बिलाएर जान्छ भन्ने डरले खुम्चिएकाले म मौन बसेको थिएँ।

‘होइन हरिबाबु, मैले बोलेको राम्ररी सुनिएन कि क्या हो, बोल्नुहुन्न नि ? ’ दिदीले थोरै चनाखो स्वरमा सोधेकी थिइन्।

‘त्यस्तो होइन दिदी, सुनिएको छ। तपाईंको आवाज सुनेर मन धेरै खुसी भएकाले त्यसको मोहक आनन्दले शब्दहरू मुटुवरिपरि अल्मलिएका मात्र हुन् दिदी। यो परदेशमा तपाईंको मीठो र स्नेहशिक्त स्वर सुनेर म कति खुसी भएको छु त्यसलाई शब्दमा व्यक्त गर्न सक्दिनँ। अनि स्वास्थ्य कस्तो छ तपाईंको ? ’

‘दमले खोक्रो पारेको यो बूढो शरीर बाबु त्यस्तै त हो नि। अस्पताल जाने आउने गरिरहेकी छु। अहिले अलि तैबिसेक राम्रो भएको छ। अनि तपाईं कहिले फर्कने ? तपाईं र बहिनीको न्यास्रो लागेको छ भन्या।’

‘दिदी म दसैंलाई आउँछु। यस पटक मेरो मूल टीका दिदीको हातबाट हुन्छ।’

‘मेरो प्यारो भाइ, म तपाईं आउने बाटोमा यी नजर बिछ्याएर बसेकी हुन्छु’, सुभद्रा दिदीले कुराकानीको टुंग्याउनीमा बोलेको वाक्य यही थियो।

०००

मेरो दुर्भाग्य, मैले यस सालको दसैंको मूल टीका सुभद्रा दिदीसँग लगाउने जुन योजना बनाएको थिएँ अब त्यो पूरा हुनै नसक्ने भएको छ। म आउने बाटोमा मलाई पर्खेर बस्ने भनिएका ती कोमल पारदर्शी आँखा सधैंका लागि बन्द भएका छन्। प्रकृतिको शाश्वत नियम, हुने हुनामी भइसकेको छ। सुदर्शिनी, सुभाषिनी, सरल स्वभावकी र सकारात्मक सोचकी प्रतिमूर्ति मेरी प्यारी सुभद्रा दिदीले साँच्चिकै महाप्रस्थान गरिसकेकी छन्। उनले रंगमञ्चमा फैलिने सप्तरंगी प्रकाशको झिलिमिली, हार्मोनियमको गुन्गुन्, गिटारको रिटिङ रिटिङ, तबलाको थाप, पाउजूको रुन्झुन्, एक्सनमा जानुअघिको चुरोटको एउटा लामो सर्को, दर्शकहरूको उल्लासपूर्ण थपडी र हरेक पटकको राम्रो अभिनय वा नृत्यपछि उस्तादको आँखामा फैलिने सन्तुष्टिको चमक, सबैसँग सधैंका लागि, बिदा लिइसकेकी छन्।

मेरो सम्झनाको सन्दुकमा रहेका सुभद्रा दिदीसँग सम्बन्धित अनेकौं घटनाहरू कुनै चलचित्रका दृश्यका खण्डित टुक्राहरूझैं मेरो चेतनाको फलकमा देखा परिरहेका छन् अहिले।

दिदीको आत्मकथाको पुस्तक ‘कलाकार सुभद्रा अधिकारी : जीवनगाथा’को पहिलो संस्करण धेरै त्रुटि र अशुद्धिका साथ बेतरतीव ढंगमा प्रकाशनमा आएको रहेछ। राम्रोसँग सम्पादन अथवा आवश्यक ठानिएमा पुनर्लेखन नै पनि गराएर त्यसको दोस्रो संस्करण निकाल्ने अठोट गरेपछि त्यस कामका लागि एक जना कुशल लेखक सम्पादकको खोजी हुन थालेछ। दिदीले त्यस विषयमा त्रिभुवन विश्वविद्यालयको लेखा विभागमा काम गर्ने आफ्नी छोरीसँग पनि कुरा गरेकी रहिछन्।

संयोगले दिदीकी छोरी मेरा अन्यतम् मित्र विख्यात कथाकार ध्रुव सापकोटाकी सहायक रहिछन्। सुभद्रा दिदीकी छोरीका लागि ममीको पुस्तक सम्पादन गर्ने मान्छे खोजिदिन साहित्यकार ध्रुव सरभन्दा उपयुक्त अर्को व्यक्ति को हुन सक्थ्यो र ? उनले ध्रुवलाई भनिछन्, ध्रुवको पालो त्यो काम गर्न अह्राए मलाई। एक त म ध्रुवको कुरो काट्न नसक्ने, त्यसमाथि पनि आफूलाई मन पर्ने कलाकारले लेखेको पुस्तकको सम्पादन गर्ने काम, मैले अलिकति पनि आनाकानी नगरी सुभद्रा अधिकारीको जीवनगाथालाई सकेसम्म राम्रो बनाएर प्रकाशन गर्ने जिम्मेवारी लिएको थिएँ।

त्यसरी सुरु भएको थियो वरिष्ठ रंगकर्मी, उच्चकोटीकी चलचित्र कलाकार र नृत्यांगना सुभद्रा अधिकारीसँगको मेरो स्नेहिल र आत्मीय सम्बन्ध। धेरथोर पारि श्रमिक लिएर पुस्तक सम्पादन गर्ने क्रममा भएको भेटले छिट्टै नै हामी दुईलार्ई सहोदर दिदीभाइभन्दा पनि बढी निकट र आत्मीय बनाइदिएको थियो। केही समयको अन्तरालमा हामी दुईले हाम्रा दुई परिवारलाई पनि आपसी सम्बन्धको परिधिभित्र ल्याएका थियौं र हाम्राबीच व्यक्तिगत मात्र होइन एकदम नै न्यानो पारिवारिक सम्बन्ध पनि कायम भएको थियो। मेरी पत्नी प्रभा र सुभद्रा दिदी प्रत्यक्ष भेट नभईकन पनि आपसमा गाढा प्रेम भएका दुई बहिनी बन्न पुगेका थिए।

सुभद्रा अधिकारीको सारा जीवन कलाको क्षेत्रप्रति समर्पित रह्यो। संगीत, नृत्य र अभिनय सुभद्राको रगतमै थियो सायद। उनकी आमा नूरादेवी शास्त्रीय गायनमा सक्रिय थिइन्। सुभद्राको मामाघरको वातावरण पनि कलाको क्षेत्रमा जान चाहनेका लागि प्रोत्साहन गर्ने खालको थियो। सांस्कृतिक रूपले सम्पन्न सहर काठमाडौंमा वर्षैभरि भइरहने अनेक प्रकारका जात्रा, ख्यालः, प्याखः, लोकगीत, भजन, प्रहसन र शास्त्रीय नृत्यहरू हेर्दै, सिक्दै र तिनमा रम्न खोज्दै हुर्केकी सुभद्रा सात वर्षको कलिलै उमेरदेखि स्टेजमा नाच्न थालेकी हुन्।

उनले एक नृत्यांगनाका रूपमा आफ्नो कौशललाई उच्चतम् बिन्दुमा स्थापित गरेकी छन् तापनि आफ्नो अद्भुत अभिनय क्षमताले नेपाली रंगमञ्च र चलचित्र जगत्मा जुन स्थान हासिल गरेकी छन् त्यो अतुलनीय छ। सुभद्रा अधिकारीको जीवनगाथा नेपाली रंगमञ्चको पनि जीवनगाथा हो र राष्ट्रिय नाचघरको पनि इतिवृत्त। मुनामदन मञ्चनको कथा, नेपाली ब्यालेको कहानी वा पञ्चायत व्यवस्थाको प्रचारात्मक नृत्यनाटिकाको कुरा, ती सबै सुभद्रा अधिकारीबाट सुरु हुन्छन्, उनकै वरिपरि घुम्दछन् र त्यहीँ पुगेर टुंगिन्छन्।

अप्रतिम सुन्दरी सुभद्राले राष्ट्रिय नाचघरका सहकर्मी कलाकार कृष्णप्रसाद अधिकारीसँग प्रेमविवाह गरेकी थिइन्। उनका मधेसी मूलका व्यापारी बा र क्षत्रीकी छोरी उनकी आमाको विवाह पनि अन्तर्जातीय नै थियो। बाको चाँडै मृत्यु भएपछि किशोरी सुभद्रा लामो समयसम्म मामाघर इन्द्रचोकमा बसेकी थिइन् र त्यहीँबाटै उनको कलाकार जीवन सुरु भएको थियो।

उनले स्कुले शिक्षा राम्रोसँग लिन पाइनन् तर जीवनको खुला विश्वविद्यालयमा शिक्षित र दीक्षित कलाकार सुभद्रा अधिकारी ती हरेक मानवीय प्रसाद गुणहरूले सम्पन्न थिइन् जसले मानिसलाई श्रेष्ठतर बनाउँछन्। उनलाई सहृदयताकी जीवन्त प्रतिमूर्ति भन्दा अत्युक्ति हुँदैनथ्यो। उनको निधनले नेपाली कलाजगत् निकै गरिब भएको छ।

Related Articles

Back to top button
Close