समाचार

ओली सरकार बोल्नै नसकेपछि कांग्रेस सांसदले सोधे कडा प्रश्न

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बोल्नै नसकेको भारतको कश्मीर मामिलामा नेपाली कांग्रेस सांसद जितेन्द्र नारायण देवले कडा प्रश्न सोधेका छन् ।राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद देवले कश्मीरका सन्दर्भमा नेपाल सरकारको मौनताबारे स्पष्ट पार्न माग गरेका छन् । कश्मीरका सन्दर्भमा नेपालले आफ्नो धारणा बनाउनुपर्ने भएपनि त्यो हुन नसकेको कांग्रेस सांसदले बताए ।

‘छिमेकका अन्य देशले आफ्नो धारणा बनाइसक्दा पनि नेपाल सरकार किन बोल्न नसकेको ?’ उनले सोधे । उनले कश्मीरका सन्दर्भमा सरकारले धारणा बनाउन ढिला भएको बताएका छन् ।

कश्मीरबारे नबोलेर नेपाल सरकार उत्तरतिर बढी फर्किने प्रयत्न गरिरहेको सन्देश गएको उनको टिप्पणी छ । ‘कश्मीरका सन्दर्भमा सरकार किन गुंगो भएर बसिरहेको छ,’ उनले सोधे, ‘माल्दिभ्स, बंगलादेश र भुटानले बोलिसके । हाम्रा परराष्ट्रमन्त्री भने घटनालाई नजिकबाट नियाल्दै छौं भनिरहनुभएको छ । नियाल्ने काम कहिलेसम्म गरिरहने हो ? यस्तो तरिकाले नेपाल–भारत सम्बन्ध कसरी अगाडि बढ्छ ? म आग्रह गर्न चाहन्छु – आँट छ भने सरकारले बोलोस् । के बोल्छ बोलोस्, त्यसपछि कांग्रेस वा अन्य राजनीतिक दलले आफ्नो धारणा बाहिर ल्याउनेछन् ।’

नेपाली कांग्रेसले औपचारिक रुपमै यस विषयमा धारणा बाहिर ल्याउन सरकारलाई भनिसकेको उनले बताए ।माल्दिभ्स, श्रीलंका र बंगलादेशले कश्मीरको विषय भारतको आन्तरिक मामिला भनेर भारतलाई सहयोग पुग्ने अभिव्यक्ति दिइसकेका छन् ।भारतले कश्मीरले प्राप्त गरेको विशेषअधिकार खोस्ने गरी संविधानको धारा ३७० खारेजीको निर्णयलाई आफ्नो आन्तरिक मामिला भन्दै आएको छ ।

सांसद देवले भारतीय विदेशमन्त्री एस जयशंकरले गरेको नेपाल भ्रमणका क्रममा सन् १९५० को सन्धि र ईपीजी प्रतिवेदनका सन्दर्भमा भएका निर्णय सार्थक हुन नसकेको बताए । ‘नेपाल सरकारले जुन तयारीका साथ कुरा राख्न सक्नुपर्थ्यो, त्यो गर्न सकेन,’ उनले भने, ‘फेरि ब्याक टु मंगलमान । घुमिफिरी रुम्जाटार जस्तै भएको छ ।’पाकिस्तानका विदेशमन्त्रीले नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई टेलिफोन गर्दै कश्मीर मामिलामा बोल्न आग्रह गरेका छन्।

Related Articles

Back to top button
Close