‘युट्युबतिर हेरिसक्नु छैन, पुलिसको अनुसन्धान पनि आफैँ गर्छन्’
काठमाडौं : सरकारले सञ्चारमाध्यममा पछिल्लो समय देखिएको विकृतिले जोखिम बढाएकोको छ। सामाजिक सञ्जाल र युट्युबका कारण मूलधारका मिडियामा चुनौती बढेको जनाउँदै सरकारले अब नसच्चिए अवस्था जटिल हुनेतर्फ सजग गराएको हो।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले अहिले अवस्था अफ्ठेरो भएको बताउँदै सबैभन्दा समस्या टेलिभिजनलाई परेको उल्लेख गरे।
‘कुरो अफ्ठ्यारो नै छ। के मिडिया हो? के सामाजिक सञ्जाल हो? मूलधारका सञ्चामाध्यमलाई सामाजिक सञ्जालले प्रभावित गर्नेे होइन। तर त्यो जोखिम देखिँदैछ। मूलधारका टेलिभिजनलाई अहिले सबैभन्दा अफ्ठेरो परेको छ’, बाँस्कोटाले भने, ‘युट्युबतिर हेरिसक्नु छैन। युट्युबरहरु पत्रकार हुन् कि होइनन्? न्याय सम्पादनका विषयमा जथाभावी कुरा उठाउनु यो ठीक हो यो बेठीक हो?’
मन्त्री बाँस्कोटाले युट्युबरका कारण न्याय सम्पादन र अनुसन्धान प्रभावित हुने अवस्था आएको बताए। ‘न आफू टुंगोमा पुर्याउँछन् न पुलिसलाई काम गर्न दिन्छन्?’, उनले भने, ‘प्रहरीले अनुसन्धान गर्नै नसक्ने अवस्था आयो। त्यही कारण सूचना प्रविधि कानुन ल्याएका छौँ। संसदमा छलफलको क्रममा छ। सामाजिक सञ्जालको मनपरी रोक्नेतर्फ लागेका छौँ।’
बेलायतले पनि सामाजिक सञ्जालबाट समस्या निम्तिएपछि भर्खरै कानुन ल्याएको उनले स्मरण गरे। ‘जे कुरा अहित हुन्छ, न्याय प्रणालीलाई प्रभावित पार्छ, त्यहाँ कानुन छ’, उनले भने, ‘अब मूलधारको सञ्चारमाध्यमका लागि चुनौती थपिएको छ। प्रेस आफैँ खोजेर चल्ने या सामाजिक सञ्जालबाट चल्ने?’
मन्त्री बाँस्कोटाले उत्तेजना फैल्याउने र दिग्भ्रमित फैल्याउने काम कुनै अवस्थामा हुन नुहने उल्लेख गरे। उनले सिंहदरबार भित्र आत्महत्या गरेका कर्मचारीको भिडियो खिच्न पाएको भए युट्युबरले अनेक गर्ने बताए।
‘यहाँ (सिंहदरबारमा) एकजना कर्मचारीले आत्महत्या गरे। यदि यहाँ छिर्न पाएकोे भए केके लेख्थे होला? शीर्षक पनि उत्तेक र अनेक हाल्छन्। पाठ पढाउँछौँ भन्छन्।’
आफूले पत्रकार आचारसंहिताबारे बोल्यो भने पाठ सिकाउन खोज्यो भन्दा दुःख लागेको उनले बताए। ‘मैले पनि अलि अलि अभ्यास गरेकाले क्लास लिनै पर्छ’, उनले भने, ‘नेपाली प्रेस आफ्नो जिम्मेवार भविष्यका लागि सचेत हुनुपर्छ।’
पत्रकारितालाई नियम गर्नैका लागि दुई ऐन ल्याएका हौँ। ‘त्यसैका लागि आमसञ्चार ऐन र सूचना प्रविधि ऐन ल्याएका छौँ’, उनले भने, ‘तपाईँहरुले एकै डालोमा हालेर निरंकुशता भन्नुहुन्छ। यी ऐनले पत्रकारिता र लोकतन्त्र पनि जीवन्त रहन्छन्।’
Source:thahakhabar