समाचार

कूटनीतिक मर्यादा उल्लंघन गर्दै भट्टराईले भेटे भारतीय विदेशमन्त्री

काठमाडौं– नेपाल-भारत संयुक्त आयोग बैठकमा लागि नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशंकरले समाजवादी पार्टी नेपालका नेताहरुसँग भेटघाट गरेका छन्।

उनलाई भेट्न पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र सोही पार्टीका अध्यक्ष उपेन्द्र यादव द्वारिकाज होटल पुगेका हुन्।

प्रधानमन्त्री भइसकेको व्यक्ति विदेशमन्त्रीलाई भेट्न होटेलमा पुग्नु कूटनीतिक मार्यादाअनुकूल नहुने कूटनीतिक मामिलाका जानकारहरु बताउँछन्।विगतमा पनि आफ्नो पदीय हैसियतको ख्यालै नगरी नेपाली नेताहरु भारतीय नेतालाई भेट्न होटल पुग्ने गरेका थिए।

जयशंकर बसेको होटेल द्वारिकाजमा गएर भेटेका भट्टराईले पारस्परिक चासोका विषयमा छलफल भएको बताएका छन्। ‘भ्रमणमा रहनुभएका भारतीय विदेश मन्त्रीसँग पारस्परिक चासोका विषयमा कुराकानी भयो,’ भेटपछि उनले ट्विटरमा लेखेका छन्, ‘वर्तमान भारतीय सरकार नेपालसँग कनेक्टिभिटी र आर्थिक सहकार्य गर्न उत्सुक रहेको थाहा पाउँदा खुसी लागेको छ।’

दुईदिने संयुक्त आयोग बैठकका लागि नेपाल आएका जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतसँग भेटघाट गरिसकेका छन्।

Related Articles

Back to top button
Close