नेकपामा लफडा ! सचिवालय बैठकमै ओली र नेपालबीच भनाभन
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले राखेको सातबुँदे नोट अफ डिसेन्ट (असहमतिपत्र)को वैधानिकतामाथि अध्यक्ष केपी ओलीले प्रश्न उठाएपछि बुधबारको बैठकमा दुई नेताबीच सवाल–जवाफ भएको छ ।
ओलीको प्रस्तावमा नेपालको वरीयताक्रम हेरफेर भएपछि नेपालले ‘एक व्यक्तिः एक जिम्मेवारी’ लागू गर्न ओलीले अध्यक्ष र प्रधामन्त्रीमध्ये एक पद छोड्नुपर्ने भन्दै नोट अफ डिसेन्ट लेखेका थिए । तर, पछिल्लो सचिवालय बैठकले निर्णय नै नगरेको विषयमा नेपालले असहमति दर्ज गराएको भन्दै अध्यक्ष ओलीले उनीमाथि प्रश्न उठाएका थिए ।
‘मैले सचिवालय बैठकमा जे–जे कुरा उठाएको थिएँ, तिनैलाई लिखित रूपमा उठाएको हुँ,’ नेपालको भनाइ उद्धृत गर्दै उनीनिकट एक नेताले भने, ‘एक व्यक्तिः एक जिम्मेवारी कोही कसैप्रति लक्षित होइन । विधानमै उल्लेख व्यवस्था सबैमा लागू हुन्छ । तपाईंले पनि एउटा पद छाड्नुपर्ने हुन्छ ।’
सचिवालय बैठकमा अध्यक्ष ओलीले वामदेव गौतमलाई उपाध्यक्ष र झलनाथ खनालको वरीयता हेरफेरसम्बन्धी निर्णय सर्वसम्मत भइसकेपछि नेपालजत्तिको जिम्मेवार नेताले आन्तरिक विषयलाई छरपस्ट बनाउनु बेठीक भएको तर्क गरेका थिए ।
जवाफमा नेपालले यो निर्णय विधिमाथि टेकेरै गरिएको हुनाले आफूले पनि सर्वसम्मत स्वीकार गरेको बताए । तर, नवौँ महाधिवेशनको वरीयतालाई आधार मानेर खनालका बारेमा निर्णय हुँदा अन्य नेतामाथि अन्याय हुन नहुने विषय मात्र नोट अफ डिसेन्टमा उठाएको उनको तर्क थियो ।
‘एमालेको नवौँ महाधिवेशनपछिको वरीयतालाई आधार मानेर झलनाथ कमरेडलाई अध्यक्षपछिको मर्यादाक्रममा राख्ने उचित निर्णयलाई मैले सर्वसम्मत स्वीकार गरेको हुँ,’ नेपालको भनाइ थियो, ‘तर त्यही कमिटीका महासचिव नेकपाको सचिवालय सदस्य हुने, उपमहासचिव महासचिवमा बढुवा हुने, उहाँहरूभन्दा सिनियर त्यतिवेलाका तीनजना उपाध्यक्ष र एकजना उपमहासचिवलाई चाहिँ सचिवालयमै राख्न नहुने रु उहाँहरू यहीँ (पोखरेल र पौडेललाई लक्षित गर्दै) हुनुहुन्छ, तर किन बोल्नुहुन्न ?’
नेपालले विधि र प्रक्रिया मिचिएका कारण आफूले उठाएको असहमतिका विषय तत्काल सम्बोधन नगरिए स्थायी समिति, केन्द्रीय कमिटी बैठक हुँदै जिल्लाभन्दा तल्ला कमिटीसम्म लगेर देशव्यापी छलफलको एजेन्डा बनाउने चेतावनीसमेत दिएका थिए । नयाँ पत्रिका दैनिकमा समचार छ ।