समाचार

चिनियाँ राजदूतले अर्थमन्त्री भेटे, नाका सञ्चालनबारे छलफल

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीबीच नेपाल-चीन नाकाहरुको प्रभावकारी सञ्चालनका सम्बन्धमा छलफल भएको छ ।

अर्थ मन्त्रीको सचिवालयका अनुसार बुधबार काठमाडौं-कोदारी, काठमाडौं-रसुवागढी सडक तथा र कोरला नाकामार्फत आवागमन बढाउने विषयमा छलफल भएको हो ।

भेटघाटको क्रममा चिनियाँ कम्पनीबाट नेपालमा भइरहेका निर्माण कार्यको समीक्षा हुनुका साथै चीन सरकारको सहयोगमा सञ्चालित परियोजनाको प्रगतिको विषयमा पनि छलफल भएको थियो ।

काठमाडौं चक्रपथको दोस्रो चरणको निर्माण तयारी र चिनीया वित्तीय संस्थाको नेपालको पूर्वाधार विकासमा लगानी बढाउने सम्बन्धमा पनि छलफल भएको अर्थमन्त्रीको सचिवालयले उल्लेख गरेको छ ।

बुधबार नै अर्थमन्त्री डा. खतिवडा र नेपालका लागि यूरोपियन युनियनका राजदूत एम.एस. भिरोनिका कोडीबीच अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ । उक्त अवसरमा नेपालमा यूरोपियन युनियनको सहयोग र द्विपक्षीय हितका विषयमा छलफल भएको अर्थ मन्त्रालयले उल्लेख गरेको छ ।

भेटका क्रममा कोडीले पछिल्लो समयमा यूरोपियन युनियनले नेपाललाई आर्थिक सहायता बढाउँदै गएको बताएका थिए ।अर्थमन्त्री डा. खतिवडाले परियोजना कार्यान्वयन गर्ने निकायले नै स्वामित्व लिने गरी क्षमता विकासमा यूरोपियन युनियनको प्राविधिक सहयोग खर्च गर्नुपर्ने र नेपालको क्षमता नभएका विषयमा मात्र अन्तर्राष्ट्रिय परामर्शदाता परिचालनको नीति लिइएको बताएका थिए ।

Related Articles

Back to top button
Close