समाचार

नाकाबन्दीबारे परराष्ट्रमन्त्रीले भने–अब पछाडि फर्केर हेरिँदैन

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र भारतबीच निकटको सम्बन्ध रहेको जनाउँदै यो सम्बन्ध राजनीतिक स्तरमा मात्रै नभइ व्यापक रुपमा रहेको जनाएका छन् ।

आजबाट नेपालमा नेपाल—भारत संयुक्त आयोगको बैठक हुन गइरहेको सम्बन्धमा बीबीसी हिन्दी रेडियोलाई उनले दिएको अन्तर्वार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले जनस्तर, व्यापारिक स्तर, आर्थिक स्तर र सांस्कृतिक स्तरमा दुई देशको सम्बन्ध मजबुत रहेको र यो मजबुत सम्बन्धलाई अझ मजबुत बनाउन दुवै देशबीच विभिन्न प्रक्रिया रहेको जनाएका छन् ।

भारतका विदेशमन्त्री एस जयशंकर नेपाल आउँदैछन् छिमेकी देश भएको नाताले नेपालले यो भ्रमणसँग के अपेक्षा गरेको छ भन्ने प्रश्नमा ज्ञवालीले नेपाल र भारतबीच बहुत निकटको सम्बन्ध रहेको सबैलाई थाहा भएको जनाउँदै संयुक्त आयोगको बैठकमा दुवै पक्षका समकक्षी मिल्ने र हाम्रो सम्बन्धलाई अझ मजबुत बनाउने उल्लेख गरेका छन् ।

काश्मीर मुद्दामा नेपाल कति चिन्तित छ भन्ने प्रश्नमा नेपालका परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल अहिले सार्कको अध्यक्ष राष्ट्र पनि भएको जनाउँदै काश्मीर मामिला सही दिशामा अघि बढ्ने अपेक्षा गरिएको जनाएका छन् । उनले यसबाट क्षेत्रीय शान्ती र स्थायित्वमा कुनै प्रतिकूल प्रभाव नपर्ने अपेक्षा गर्दै सबै समश्या शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्ने जनाएका छन् ।

त्यसैले कुनै पनि पक्षले शान्ति, स्थायित्व र देश —देशको बीचको सम्बन्धमा प्रतिकूल प्रभाव पर्ने खालको कुनै कदम नउठाउने अपेक्षा गर्दै उनले सबैले क्षेत्रीय शान्ति र स्थायित्वमा योगदान गर्नुपर्ने जनाएका छन् । उनले भारतमा रहेको सक्षम नेतृत्वले यो समश्याको समाधान गर्न सफलता पाउने विश्वास समेत व्यक्त गरेका छन् ।

यो मामिलामा नेपालको भूमिकालाई कसरी लिनु भएको छ भन्न्ो प्रश्नमा परराष्ट्र मन्त्री ज्ञवालीले भनेका छन्,‘‘नेपाल आफ्नो शुभकामना दिन्छ । हाम्रा थुप्रै नेपाली त्यहाँ काम गर्छन् । हामी भारत सरकारसँग निकट सम्बन्धमा रहेर त्यहाँको स्थितिको बारेमा नियमित रुपमा जानकारी लिइरहेका छौं । हाम्रोलागि सन्तोषको कुरा हो कि सबै नेपाली सुरक्षित छन् र हाम्रो विश्वास छ कि त्यहाँ कुनैपनि त्यस्तो घटना हुने छैन जसले उनीहरुलाई कुनै समश्या परोस् ।’’

यसबाहेक जुन दिशामा भारत अघि बढिरहेको छ, विकासको उक्त कदममा हाम्रो तर्फबाट शुभकामना रहेको जनाउँदै परराष्ट्रमन्त्रीले जति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका योजना छन् ती सफलतापूर्वक अघि बढून्, यही हाम्रो शुभकामना र विश्वास छ भनेका छन् ।

केहीअघिको नाकाबन्दीलाई जयशंकरको यो भ्रमणले मल्हम लगाउला भन्ने प्रश्नमा ज्ञवालीले भनेका छन्,‘‘मलाई लाग्छ कि दुवै देशले अगाडितिर हेर्नु जरुरी छ । भविश्यलाई हेर्नुपर्छ । बितेको समयमा जे भयो त्यो इतिहास भएको छ । हामीले भविश्यतर्फ हेरेर अघि बढ्नुपर्छ । किनकि नेपाल र भारतको सम्बन्ध बहुआयामिक छ । यति निर्भरता छ कि संयुक्त रुपमा अघि बढ्नैपर्छ । यसको कुनै विकल्प छैन ।’’ उनले दुई देशको भविश्य र हित यसैमा रहेको र नयाँ दृष्टिबाट अघि बढ्नुपर्ने जनाएका छन् । उनले विगतमा जे भयो अब त्यसको छायाँ पर्दैन तर यो आवश्यकता हो कि त्यसबाट सबक सिक्नु जरुरी रहेको उनले बताएका छन् । ‘‘दुवै देशलाई यो कुराको बोध छ र अब बितेका कुरालाई पछाडि फर्केर हेरिदैन, अगाडि देख्नु पर्छ,’’ उनले भनेका छन् ।

काश्मीरमा संविधानको धारा ३७० निस्तेज गरिएको प्रसंगमा भारतको कदमको बारेमा भारतलाई भनिसकिएको र दुवै देशका दूतावास सम्पर्कमा रहेको उनले जनाएका छन् । उनले नेपालले छिमेकी भारत र चीनसँगको सम्बन्धलाई तुलना नगर्ने जनाउँदै उनले नेपालले कसैसँग सम्बन्ध बढाएपनि भारतको अहितमा नहुने जनाएका छन् ।
उनले जयशंकरको भ्रमणको क्रममा आर्थिक साझेदारीको मुद्दामा मुख्य रुपमा छलफल हुने समेत जनाएका छन् । त्यसैगरी व्यापार घाटा कम गर्ने विषयमा पनि कुरा हुने जनाएका छन् । (बीबीसीबाट)

Related Articles

Back to top button
Close