रवि लामिछानेका नाममा अनुसन्धानलाई प्रभावित बनाउन भएको प्रर्दशन विल्कुलै सही मान्न सकिन्न
काठमाडौ । पछिल्ला केही दिनहरुमा चर्चामा रहेको शालिकराम पुडासैनी मृत्यु प्रकरणले आज पनि संसदमा स्थान पाएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सचेतक शान्ता चौधरीले पत्रकार पुडासैनीको जीवनत्याग प्रकरणको अनुसन्धान जारी रहेका बेला आफ्नो धारण व्यक्त गर्नुभएको हो ।
अनुसन्धान भइरहेको समयमा प्रदर्शन उपयुक्त नभएको उहाँले स्पष्ट पार्नुभयो । संघीय संसद प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै चौधरीले अनुसन्धान प्रभावित हुने गरी भइरहेको प्रदर्शन रोक्न सबै दलहरु एक ठाउँमा उभिनुपर्ने बताउनुभयो । संसदमा बोल्दै उहाँले भन्नुभयो, ‘को दोषी र को निर्दोष भन्ने सवाल अनुसन्धान चलिरहेका बेला उत्तेजित भएर सडकमा निस्कने, अनुसन्धानलाई प्रभावित बनाउन खोज्ने विषयलाई विल्कुलै सही मान्न सकिन्न ।’
चितवनमा भइरहेको प्रदर्शनतर्फ संकेत गर्दै उहाँले भन्नुभयो, ‘यस्तो गतिविधि रोक्न सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुपर्दछ ।’ चौधरीले तथ्यमा टेकेर सत्य पत्ता लगाउँदा निर्दोषले सजाय भोग्न नपर्ने र दोषी उन्मुक्ति नपाउने बताउनुभयो । राज्यका संयन्त्रलाई अनुसन्धान गर्न नदिएर अगाडि बढ्न खोज्दा देशमा उत्पन्न हुन सक्ने भयावह अवस्थालाई सबैले ख्याल गर्नुपर्ने उहाँले बताउनुभयो । देश विरोधीले चल्ने भन्दै कानुनको सर्वोच्चतालाई सबैले आत्मसात गर्नुपर्ने आजको आवश्यक्ता रहेको स्पष्ट पार्नुभयो ।
अनुसन्धानका आफ्ना प्रक्रिया हुने भन्दै अहिले रवि लामिछाने लगायत सबैमा यो क्रम जारी रहेको उहाँले बताउनुभयो । अहिले रवि लामिछाने दोषी भएको वा नभएको भन्ने कुरा गलत भएको भन्दै अनुसन्धान गर्न दिनुपर्ने बताउनुभयो ।