समाचार

मन्त्रीको चर्काे आक्रोश : ‘प्रचण्ड १ नम्बर नामुद भ्रष्ट हुन्, धेरै भुक्ने होइन’

जनकपुरधाम – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार धनुषामा शहीद रामवृक्ष यादवको स्मृतिसभा सम्बोधन गर्दै प्रदेश २ सरकार भ्रष्टाचारमा लिप्त रहेको अभिव्यक्ति दिए ।

प्रचण्डले प्रदेश सरकारलाई भ्रष्ट भनेपछि खैलाबैला मच्चियो । साँझपख सामाजिक सञ्जाल फेसबूकमा स्टेटस लेख्दै प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल उल्टै प्रचण्डमाथि खनिए ।राज्यमन्त्री मण्डलले प्रचण्डविरुद्ध आक्रमक हुँदै सामाजिक सञ्जाल फेसबूकमा चर्काे आक्रोशपूर्ण अभिव्यक्ति दिएका छन् ।

राज्यमन्त्री मण्डलले लेखेका छन्, ‘बाराभको शब्दमा भन्ने हो भने नेपालको नामुद भ्रष्टमध्ये प्रचण्ड नम्बर १ नै हो । जनमुक्ति सेनाको भरणपोषणको नाममा उनले १२ अर्बको भ्रष्टाचार गरेको छ । मधेशमा आएर धेरै भुक्ने होइन । हिम्मत छ भने ३८ केजी सुन निकाल, वाइडबडीको ४ अर्ब निकाल ।’

उनले थप आक्रोशित हुँदै प्रचण्डविरुद्ध लेखे, ‘क. प्रचण्ड छुचुन्दरको जस्तो वाणी त्याग्नुस् । मधेशमा आएर जहिले नि जथाभावी बोल्ने फटाहा इमेज सुधार्नुस् । तपाईको भन्दा बढी मधेशको चिन्ता हामी मधेशीलाई छ ।’

नेकपा भ्रष्टाचारको जननी रहेको सज्ञा दिँदै राज्यमन्त्री मण्डलले प्रदेशभन्दा सिंहदरबारमा २ सय गुणा बढी भ्रष्टाचार हुने गरेको दाबी गरे । ‘भ्रष्टाचारको जननी नेकपा र कांग्रेस हो । यो मुलुकमा भ्रष्टाचार के हो ? कसरी गरिन्छ भ्रष्टाचार उसैले सिकाएको छ,’ उनले लेखेका छन् ‘संघीय सरकारले नै पठाएको सचिव र मुख्यसचिव यहाँ छन्, उसलाई सोधे हुन्छ । प्रदेश नम्बर २ भन्दा २०० गुणा भ्रष्टाचार सिंहदरबारमा हुन्छ, सक्छौ भने त्यसलाई रोक।’प्रदेश २ मा कम्युनिस्ट सरकार नभएका कारण प्रचण्ड र प्रदेश सरकारबीच पटक–पटक दोहोरी चल्ने गरेको छ ।

हेर्नुस् यस्तो छ फेसबूकमा लेखिएको स्टेटस –

Related Articles

Back to top button
Close