समाचार

भरतपुरको चौविसकोठीमा प्रदर्शनकारी र प्रहरीबीच झडप, केही प्रदर्शनकारी नियन्त्रणमा

काठमाडौं, २ भदौ । सोमवार पनि चितवनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको प्रकरणमा पक्राउ परेका न्यू २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थकहरुले आज पनि भरतपुरमा प्रदर्शन गरिरहेका छन् । प्रर्दशनका क्रममा निषेधाज्ञा जारी गरेको क्षेत्रमा प्रर्दशनकारी प्रवेश गर्न खोजेपछि झडप भएको छ । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालय, चितवनले भरतपुरको चौबीसकोठीदेखि मालपोतचोकसम्म आइतवार देखि नै लागू हुने गरी निषेधित क्षेत्र घोषणा गरेको छ । दिनहुँ प्रर्दशन र नारावाजी हुन थालेपछि प्रशासनले यी क्षेत्रलाई निषेधित घोषणा गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, चितवनका डीएसपी दीपेन्द्र शाहले प्रर्दशन र नारावाजीले कामकाजमा बाधा परेकाले भरतपुरको चौबीसकोठीदेखि मालपोतचोकसम्मका क्षेत्रमा प्रर्दशनमा रोक लगाइएको जानकारी दिए । निषेधित क्षेत्रमा अस्पताल, सरकारी कार्यालय, अदालतजस्ता सम्वेदनशील निकायहरू छन् । दिनहुँ प्रदर्शन जारी रहेपछि सर्वदलित वैठकले दिएको निर्देशन र निर्णय अनुसार प्रहरीले आजदेखि जिल्लाको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।

रवि लामिछानेलगायतका सञ्चारकर्मी पक्राउको विषयलाई लिएर पक्ष र विपक्षमा नाराबाजी हुन थालेपछि त्यहाँ क्रियाशील राजनीतिक दलहरूले आइतबार सहयोग गर्ने सहमति गरेका हुन् । दलहरूले घटनाबारे निष्पक्ष छानविनका लागि सहयोग गर्न र शान्तिपूर्ण प्रर्दशन गर्न आग्रह गरेका छन् । निशेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेका कारण नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले अन्य जिल्लावाट चितवनमा पुगेर नारावाजी र प्रदर्शनमा सहभागी भएकाहरुलाई जिल्ला छोड्न समेत चेतावनी दिएको छ ।

Related Articles

Back to top button
Close