समाचार

संयुक्त सैन्य अभ्यासबाट उत्तर कोरिया रिसायो, दक्षिण कोरियासँगकाे शान्ति वार्ता अस्वीकार

काठमाडौं । उत्तर कोरियाले दक्षिण कोरियासँग शान्तिवार्ता नगर्ने घोषणा गरेको छ । दक्षिण कोरिया र अमेरिकाबीचको सैन्य अभ्यासले क्रुद्ध बनेको उत्तर कोरियाले दक्षिणसँग वार्तामा नबस्ने बताएको हो ।

दक्षिण कोरिया र अमेरिकाबीचको संयुक्त सैन्य अभ्यास अहिले चलिरहेको छ । अभ्यास मुख्यगरी कम्प्युटर सिम्युलेशनमा आधारित रहेको बताइएको छ । यद्यपि, उत्तरले युद्धको तयारीका लागि यस्तो गरिएको भन्दै शंका व्यक्त गरेको छ ।

उत्तर कोरियाको शान्तिपूर्ण एकता समितिले एक विज्ञप्ति जारी गरी विगतमा अमेरिका र दक्षिण कोरियासँग भएको सहमति संयुक्त सैन्य अभ्याससँगै तोडिएको बताएको छ । साथै उसले वार्ताको वातावरण विथोलेको निष्कर्ष पनि सुनाएको छ ।उसले भनेको छ– संयुक्त सैन्य अभ्यासपछि पनि वार्तामा बस्न सकिन्छ भनेर भ्रम नपाले हुन्छ।’

सैन्य अभ्यासप्रति रुष्ट प्योङ्याङ्ले दक्षिणका राष्ट्रपतिको सम्बोधनप्रति पनि आक्रोस पोखेको छ। दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले हालैको आफ्नो सम्बोधनमा सन् २०४५ सम्म दुई कोरियाको एकता गरिसक्ने उल्लेख गरेका थिए । त्यस्तै उनले संयुक्त सैन्य अभ्यासको पनि बचाउ गरेका थिए ।

उत्तरले यसको प्रतिक्रियास्वरुप थप क्षेप्यास्त्रसमेत परीक्षण गरेको छ । दक्षिण कोरियाको पूर्वी तट पर शुक्रबार बिहानै दुई क्षेप्यास्त्र प्रहार भएको हो । यो उत्तर कोरियाले केही साताको बीचमा गरेको छैटौं परीक्षण हो । ६ दिनअघि मात्रै उसले सर्ट रेन्जको दुई ब्यालेष्टिक मिसाइल जापानको समुद्रमा प्रहार गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोन ऊनबीच जुन महिनामा भएको भेटघाटमा परमाणु निःशस्त्रीकरणबारे पुनः वार्ता सुरु गर्ने सहमतिपश्चात यी श्रृंखलाबद्ध परीक्षण भएका हुन् ।

Related Articles

Back to top button
Close