समाचार

मोटरसाइकल किन्न मिर्गौला बेच्दै थिए विष्णु

विष्णु जिसी पैसाको भोको थिए । काम गर्ने होटेलले मासिक जम्मा पाँच हजार दिन्थ्यो । त्यही पाँच हजारको लागि उनले जुठो भाडा माझ्थे, खाना–खाजा पकाउँथे, कहिलेकाहीँ साहुको गाली पनि खान्थे । तर, पैसा लिन जाने बाटो यति साह्रै डरलाग्दो होला ! विष्णुले सोचेकै थिएनन् ।

जेजे भयो त्यो १६ दिनमा भयो । र, विष्णुले जेजे सोचे त्यही १६ दिनमै सोचे । सोचहरु पनि विल्कुल नयाँ । र, सोचका स्रोत पनि उस्तै नयाँ–नयाँ ।छैटौँ दिनमा विष्णु मिर्गौला बिक्री गर्न राजी भइसकेका थिए । त्यही दिन हो विष्णुलाई सुनौली जाने गाडीमा राखेको । तर, विष्णुलाई गाडीमा उक्लिएको याद छैन । किनकी उनी बेहोस थिए ।बेहोस हुनुअघि विष्णुले योजना बुनेका थिए, ‘मिर्गौला बिक्रीबाट आएको पैसाले पल्सर २२० मोटरसाइकल र मोबाइल किन्छु ।’ तर, १६ साउनमा विष्णु नयाँ दिल्लीबाट नेपाल फर्काइए ।

करिब एक महिनापछि दाइ अर्जुनमार्फत विष्णुलाई भेट्न गौरीघाट पुग्दा दुवै जना भुइँतलाको बरन्डामा बसिरहेका थिए । ‘अब मोबाइल किन्न फेरि मिर्गौला बेच्न जाने सोच छ ?’ शान्त विष्णुलाई तिखो प्रश्नले घोच्यो ।उसो भए एउटा मिर्गौला बेच पाँच लाख आउँछ । मोटरसाइकल, राम्रो मोबाइल किनिदिन्छौं । पैसा त फालाफाल हुन्छ’, एकाएक विष्णुलाई नयाँ अफर आयो२४ वर्षीय विष्णुले टाउको कन्याए, यता उता आँखा दौडाए ।
२१ वर्षको उमेर (नागरिकतामा २४) । सर्लक्क परेको ज्यान । लरक्क परेको कालो कपाल । चामलको गेडाजस्तो अनुहारको रङ । छिटफुट दाह्री पलाएका छन् । यीनै विष्णु हुन्, १० वर्षको उमेरमा खाली खुट्टा जांगे समाउँदै काठमाडौं हुत्तिएका । स्कुलको ढोका नटेकेको एउटा बच्चालाई काठमाडौं कस्तो हुन्छ ? विष्णुसँग अनभव छ । तर, त्यस्ता नमिठा अनुभवले उनको जीवनमा कहिल्यै मिठो परिणाम ल्याउन सकेन । उनको जीवनको सिक्का पल्टिँदै पल्टिएन ।

बच्चाहको भोलि होइन, आजै रमाउने आदत हुन्छ । त्यही आदतले शहर हेर्न आइपुगेका थिए विष्णु । तर पेटको आदत त खाना माग्ने हो । विष्णुको मनको आदत क्षणभरमै भष्म भयो, जब उनको पेटले आदत देखाउन थाल्यो ।

विष्णु गोंगबुको एक होटेलमा भाँडामा हात चोपल्न पुगे । महिनाभरि रासका रास भाडा टल्काएका विष्णुका हातले महिनापछि दुई हजार रुपैयाँ समाउँथे ।विष्णुले त्यो होटेल छोडे । भाडा माझ्न पनि छोडे । वेटर बनेर अर्को होटेलमा पुगे । त्यहाँ अर्को दुई महिना बिताए । त्यसपछि होटेल छोड्ने, वेटर बन्ने, भाँडा माझ्ने, खाना पाकाउने विष्णुको जीवनको श्रृंखला बन्यो । उनका श्रमले मालिकहरु कति मोटाए, विष्णुलाई थाहा हुने कुरा भएन ।तर, काठमाडौंका फुटपाथ र गल्लीहरुमा विष्णुका चप्पलहरु पड्किरहे । कहिले भोकै तड्पिए, कहिले आफन्तको साथ दौडिए, आँशु बगाए । विष्णुलाई माया गर्ने उनकी आमा यो संसारमा थिइनन् । बुढो ‘बा’लाई सम्झिएका पनि हुन्, तर उनको काख खोज्दै विष्णु घर फर्किएनन् ६ वर्षसम्म ।त्यो छ वर्षमा उनको पारिश्रमिक बढेर तीन हजार पाँच सय रुपैयाँ पुग्यो । विष्णु चाबहिलमा काम गर्थे । एक दिन होटेलमा आइराख्ने ‘दाइ’ले उनलाई लोभ्याए, ‘मेरो गाडीमा खलासी बन् केटा । टन्न पैसा हुन्छ ।’

त्यसपछि विष्णुले २३ नम्बर रुटको माइक्रोबसको ढोका हान्न थाले । हातमा पैसाको मुठा हुन्थ्यो, तर बेलुकी रित्तै पारेर साहुले लगिदिन्थ्यो । ‘दिनमा त्यस्तै पाँच छ सय रुपैयाँ कमाइ हुन्थ्यो’, विष्णु हाँस्छन्, ‘खान, बस्न ठिक्क ।’होटेल लाइनमा छ–सात वर्ष टिकेका विष्णु माइक्रोमा एक वर्षभन्दा बढी टिकेनन् । अर्को ‘दाइ’ले भने, ‘हिँड् गाउँमा आयसर चलाउन, त्यता पैसा हुन्छ ।’अनि विष्णु नुवाकोटको बगरमा भारी उठाउन थाले । मेसो परेको बेला स्टेरिङ समाएर आफैं पनि हाँक्थे, आयसर ट्रिपर । तर तीन महिनामै ती दाइले आयसर बेचे, विष्णु काठमाडौं फर्किए । फेरि जीवनले पुरानै लय समात्यो । मनमैजुको एउटा खाजा घरमा काम थाले । तलब–पाँच हजार रुपैयाँ ।

विष्णुले काम गर्ने होटेलका नियमित ग्राहक थिए– नारायण पराजुली र रमेश कार्की बिहान उठ्नेवित्तिकै उनीहरु खाजा पसलमा आइपुग्थे । चियाको सट्टा रक्सी घुट्क्याउँथे । अनि क्यारमबोर्डमा नारिन्थे । दिनभर त्यही वरिपरि हुन्थे । साँझ परेपछि रक्सी खायो, होहल्ला गर्‍यो । सुत्न कहाँ पुग्थे, विष्णुलाई थाहा छैन ।एक दिन रमेशले गाँजाको पोका राख्न दिए विष्णुलाई । अर्को दिन रमेश कार्कीको भाइ हुँ भन्दै कोही आयो र उसैले आधा गाँजा चुडेर लग्यो ।विष्णुले एक हप्तासम्म रमेशको गाली सहे । त्यसपछि नारायणले फकाए, ‘भै गो नि त । बरु भन् के खाने ?’ त्यही दिनदेखि विष्णुको नयाँ दिन शुरु भयो । त्यो दिन २९ असार थियो ।

रमेश–नारायणले खाजा खुवाउँथे । रक्सी पिलाउँथे । खुब माया गर्थे । एक दिन सोधे, ‘कति कमाउँछौं, यतिले पुग्छ ?’ विष्णुले टाउको हल्लाए (पुग्दैन) ।‘उसो भए एउटा मिर्गौला बेच, पाँच लाख आउँछ । मोटरसाइकल, राम्रो मोबाइल किनिदिन्छौं । पैसा त फालाफाल हुन्छ’, एकाएक विष्णुलाई नयाँ अफर आयो ।

विष्णुसँग मोबाइल पनि त थिएन ।
‘अहो ! यसरी पो पैसा कमाइने रहेछ । विना लगानी, विना काम फालाफाल पैसा ! के साँच्चै मिर्गौला बेचौं त ?’, विष्णुको दिमाग यत्तिमै रिंगिन थाल्योविष्णुको रिंगिएको दिमागलाई नारायण र रमेशले आश्वस्त पार्न खोज्थे । विष्णुलाई भनिदिन्थे, ‘केही हुँदैन । एउटा मिर्गौलाले काम गरिहाल्छ । हाम्रो त मुटु कलेजोले काम नगरेर हो, नत्र बेचिसक्थ्यौं । मेरो श्रीमती, भाइको पनि बेचिसकेँ ।’

नभन्दै विष्णु मिर्गौलासँग पैसा साट्न तयार भए । त्यहीबीचमा विष्णुको रगत परीक्षण भयो ।
उनीहरुले ४ साउनमा विष्णुलाई टन्न रक्सी खुवाए, अनि आफ्नै कोठामा पुर्‍याए । विष्णुलाई सुत्ने बेला नारायण र रमेशले सम्झाएको याद छ, ‘जेजे खाने हो, आजै खानुपर्छ । भोलि विहान जाँच गर्नु छ, खानु हुँदैन है !’अर्को दिन उज्यालो भएकै थिएन । उनीहरुले विष्णुलाई सार्वजनिक गाडी चढाएर वीर अस्पताल छेउको क्लिनिक पुर्‍याए । ‘डाक्टरले कोखा छाती सबै जाँच गर्‍याे ’, विष्णुले रातो डोब देखाउँदै भने, ‘अनि यहाँ सुई हान्यो ।’

त्यहाँबाट उठेर ट्याक्सीसम्म पुगेको थाहा विष्णुलाई । त्यसपछि…
विष्णुले थाहा पाउँदा, गाडि तीव्र गतिमा घुइकिँदै थियो । अर्को सिटमा थिए, रमेश र नारायण । विष्णुको मन पनि उसरी नै तीव्र गतिमा दौडियो । रमेशसँग पुगेर भने, ‘दाइलाई एकपटक फोन गर्छु नि !’ रमेशको बोलीमा एकाएक परिवर्तन आयो, ‘कहीँ फोन गरिस् भने मारेर फालिदिन्छु ।’विष्णुको शरिरमा भुइँचालो आयो । तर औषधीले लठ्ठिएका उनी सम्हालिन सकेनन् । त्यसमाथि गाडी रोक्दै रक्सी पिए, विष्णुलाई पनि पिलाए । फेरि अर्को ठाउँमा गाडी रोकियो । उनीहरुले फेरि रक्सी पिउँदै भने, ‘खै भाइको पैसा पनि खर्च गरौं न !’ विष्णुले खल्ती टक्टक्याएर एक हजार निकाले । अब उनीसँग सम्पत्तिको नाउँमा त्यही मिर्गौला बाँकी छ ।

६ गतेको विहान, गाडी सहचालकको आवाजले विष्णुलाई ब्युँझायो । उनले चर्को बोली सुन्दै थिए, ‘सुनौली, सुनौली, सुनौली… ।सुनौलीको होटलमा पुगेपछि विष्णुले फेरि प्रस्ताव राखे, ‘एक पटक दाइलाई फोन गर्छु न !’ यस पटक भने नारायणले सातो खाए विष्णुको, ‘छुपुक्क बस्छस् कि मार्दिउँ !’ त्यसपछि उनले फोनको कुरै निकालेनन् ।केहीबेरमा देखा परे थनितसिंह गुरुङ । थनितसिंहले नारायण र रमेशको हातमा पाँच हजार राखिदिए, विष्णुलाई बाकेर भारतको गाडी चढे ।

र, अर्को दिन नयाँ दिल्लीको तातो हावा पुगे विष्णु ।
त्यहाँ दुई कोठा थिए । थनित सिंह खाना पकाउँथे । र, एउटै कोठामा विष्णु र थनित सिंह सुत्थे ।अर्को कोठामा दुई बुढाबुढी थिए । थनितसिंहले भनेका थिए, ‘तिम्रो मिर्गौला उहाँलाई नै दिने हो ।’दिन वित्यो, अर्को दिन आइपुग्यो । थनितसिंह फोनमा निकै व्यस्त हुन्थे । अधिकांश समय अस्पतालका कुरा गर्थे । बेलाबेला विष्णुलाई फकाउँथे, ‘अब यहीँको नागरिकता लिनुपर्छ । एक जनाले मेरो श्रीमान भनिदिनुपर्छ । त्यो एक शब्दको एक लाख दिनुपर्छ । अनि बल्ला मिर्गौला निकाल्ने हो ।’‘एक हप्तामा काम हुन्छ । नआत्तिकन बस । मिर्गौला बिक्री गरेपछि मात्र पैसा पाउँछौ है ।’विष्णु सुनिमात्र बस्थे । उनलाई घरबाहिर निस्कने अनुमति थिएन । कहिलेकाहीँ ती बुढी आमा–बासँग गफिन्थे । बुढी आमाले भन्थिन्, ‘तिम्रो मिर्गौला मैले नै लिने हो, तर दिनदिनै बैंकमा पैसा डिपोजिट गरिराख्नुपर्छ ।’

थनित सिंहलाई काठमाडौंबाट नारायण–रमेशको फोन आयो, ‘यता प्रहरीकहाँ खबर पुगिसकेछ । त्यो भाइलाई लिएर आउनुपर्‍याे । हामीले अर्को मान्छे ठीक पारेर राखेका छौँ । काठमाडौं आएर लगिहाल्नुस् ।’फोन राख्नेवित्तिकै थनित सिंह गुन्गुनाए, ‘अर्को ठाउँमा बढी पैसा पायो होला, नाटक गर्छ ।’तर थनितसिंहले विष्णुलाई बोकेर नेपाल नलगी धर पाएनन् । १३ गते साँझ थनितसिंह नयाँ बसपार्क ओर्लिन नपाउँदै प्रहरीको पञ्जामा परिहाले ।अर्जुनले विष्णुको हात समाए । विष्णु चकित ! उनले यो १६ दिनमा जे भोगेका थिए, विष्णुलाई मात्र होइन धेरैलाई चकित पार्ने घटनाक्रम थियो । तर, सबै विष्णुले पछि मात्र थाहा पाए ।अर्जुन १० गते नयाँ बसपार्कमा भौंतारिरहेका थिए । अघिल्लो दिन रातको ११ बजे अर्जुनको मोबाइलले सन्देश दिएको थियो, ‘तपाईँको भाइलाई त ३ गते नै मिर्गौला बेच्न लगिसके । बल्ल तपाईंको नम्बर फेला पर्‍याे

अर्जुन विहानै बसपार्क पुगेर टिकट जाँच गरे । नभन्दै यात्रुको सूचीमा विष्णुको नाम रहेछ । उनको मुखबाट कापेको स्वर फुत्कियो, ‘ला…! अब कहाँ पुर्‍याएर मार्‍याे ।’तर, अर्जुनले हिम्मत हारेनन् । साथीको माध्यमबाट गृहमन्त्रालयमा खबर पुर्‍याए । बसपार्कको सीसीटीभीको फुटेज हेरे । त्यही दिन समातिए रमेश र नारायण ।तर, रमेश र नारायणले विष्णुलाई सुनौली पुर्‍याएको पारिश्रमिक लिन बाँकी थियो, २५/२५ हजार रुपैयाँ । पैसा दिनेवाला थिए, ‘सशस्त्र प्रहरी गण नं. १ मा कार्यरत प्रहरी नायव निरीक्षक(सई) योगेन्द्रराज थपलिया ।चार बजे रमेश र नारायणको योगेन्द्रराजलाई भेट्ने योजना थियो ।रमेश–नारायणसँगै प्रहरी पनि पुग्यो गोंगबुको शिवमन्दिर ।योगेन्द्रराज मोटरसाइकलमा आए र झोला खोलेर पैसाको बिटा झिक्न थाले । त्यही बेला योगेन्द्रराज पक्राउ परे । अर्जुन भन्छन्, ‘उसको झोलामा पाँच–छ सय वटा फोटा थिए । त्यही थुप्रोमा थियो मेरो भाइको फोटो पनि ।’फोटोवालामध्ये कतिको मिर्गौला झिकिए, कतिको पेट चिरिँदैछ, प्रहरीको अनुसन्धानमा छ ।

अहिले विष्णु अर्जुनसँगै छन् । अर्जुनले गौरीघाटमा फ्ल्याट भाडामा लिएर बसेका छन् । आफ्नो परिवारसँग छन् अर्जुन । उनको तीन वटा ट्याक्सी छ । एउटा ट्याक्सी विष्णुलाई जिम्मा लगाउने योजना बनाएका छन् । अर्जुनले विष्णुलाई बेलाबेला भन्छन्, ‘तैंले त अर्को जीवन पाएको होस् ।’
Online khabar

Related Articles

Back to top button
Close