समाचार

क्यान्सर पीडितको पीडाः ‘जब म रोगी भएँ, जीवनभर साथ दिन्छु भन्‍ने मबाट टाढाटाढा भए’

सरिता दाहाल
‘म ब्याचलर गरेको मान्छे। माइतमा आमाले धेरै दुःख गरेर पढाउनुभो, बुवाले पनि केही लगानी गर्नुभो मेरालागि। तर मप्रति आमाको दुःख धेरै। घरको कामले गर्दा मेरो स्कूल नछुटोस् भनेर आमा राति–राति खेतबारीमा मल ओसार्नुहुन्थ्यो, फिँजाउनुहुन्थ्यो। जुनेली रातमा प्रायः आमालाई ओछ्यानमा देख्दिनथेँ। कामको मारामार चल्दा जुनेली रातमा धान, गहुँ काट्नुहुन्थ्यो, मकै भाँच्‍नुहुन्थ्यो। अघिल्लो साँझ बाँकी देखिएका काम भोलिपल्ट बिहान उठ्दा फत्ते भएका हुन्थे। आमा एक्लैले यति काम भ्याउनुहुन्थ्यो कि, अहिले सम्झँदा लाग्छ, मलाई के दुःख छ र? तर पीडा त छ नि मिस मेरो पनि। पढाईले पीडा पुरिन्‍न रै’छ । आमा भन्‍नेहुन्थ्यो पढे सुख पाइन्छ।’

उनी बोल्दै गइन्। म सुन्दै रहेँ।

‘म जागिरे छु। छोराछोरी छन्। श्रीमान् पनि जागिरे छन्। देख्‍ने सबैले कत्ति राम्रो देख्छन्। कति खुसी र सुखी देख्छन्। मुहारमा त्यत्तिकै देखिन्‍न नि मिस, भित्रभित्रै कति पीडा छ भनेर। ऊबेलामा आमा भन्‍नेहुन्थ्यो, ‘म अनपढ भएकाले दुःख भोगिराछु। तिमी पढ। सुखी जिन्दगी जिऊ।’

‘आमाको इच्छाअनुसार मैले पढेँ। मेरो पारिवारिक पृष्ठभूमिअनुसार मेरो पढाइ पर्याप्त हो। ब्याचलर सेकेन्ड इयर पढ्दै थें, बिहे भो। बिहेपछि पढाइ प्राथमिकतामा पर्न छाड्यो। कहिले यो, कहिले त्यो बहानामा पढाइमा अवरोध आईरह्‍याे। सेल्फ स्टडी गरेर ब्याचलर थर्ड इयरको परीक्षा दिएँ। सेकेन्ड डिभिजनमा ब्याचलर सकियो। मास्टर्स पढ्न खोजेँ, श्रीमानले केही वर्षपछि सँगै गरौंला भने। मैले मास्टर्स पढ्ने ठूलो रहरलाई थाँती राखेँ।’

‘त्यसपछि के भयो?’ मलाई उनका कुरामा झनै उत्सुकता जाग्यो।

‘सात वर्ष बित्यो, मास्टर्स पढ्ने कुरा कहिल्यै प्राथमिकतामा परेन। मास्टर्स के–का लागि गर्ने? अधिकृतभन्दा माथि जान हो, तिमीलाई के काम? राजनीतिक नियुक्ति हुने ठूलै पदका लागि समेत ब्याचलर भए पुग्छ, त्यो पनि तिमीलाई के काम? उत्कृष्ट डिग्री ल्याएमात्रै मास्टर्स डिग्री काम आउँछ, नत्र के काम ? सिरानीमा राख्‍ने हो र डिग्रीको सर्टिफिकेट? यस्तै–यस्तै भनिरहे श्रीमानले।’

‘मलाई काम नै पुजा लाग्छ। धर्ममा आस्था राख्छु, तर मन्दिर उस्तो धाउँदिन। बिहान धुप बाल्छु। बस् मन शान्त भैहाल्छ। काम गरिराख्‍न पाए म खाना–खाजा पनि भुल्छु । सारा तनाव भुल्छु। एउटा प्रोजेक्टमा काम गर्छु । कम्प्युटरमा काम हुन्छ। रातैभर पनि काम गरिरहेको हुन्छु कहिलेकाहीँ त। सायद यो मेरी आमाको जीनबाट ममा पनि आयो कि क्या हो कुन्नि। बुवा पनि हात खाली बस्‍नेको मुख खाली हुन्छ (काम नगर्नेले खान पाउँदैनन्, पेट पाल्न दुःख हुन्छ) भन्‍नुहुन्थ्यो। मलाई काम गरिराख्दा समय बितेकै पत्तो हुन्‍न। मेहनत गर्न पटक्कै डर लाग्दैन। मेहनतमै रमाइलो लाग्छ।’

आमाले स्वस्थ रहन भन्‍नुभएन

‘कामलाई पुजा मान्‍न आमाबाट सिकेँ। बुवाबाट सिकेँ। तर स्वास्थ्य? आमाले कहिल्यै आफू बिरामी भएको सुनाउनु भएन। बिसन्चो भो भनेर काम नगरी बस्‍नु भएको देखिनँ। आया र आथ्था त भनिराख्नुहुन्थ्यो, तर काममा सधैं भिडिराख्ने। हामीले आमा स्वस्थ्य हुनुहुन्छ भन्‍ने सोच्थ्यौंं। तर, आफैं आमा भएपछि बुझें– आमा सधैंजसो बिरामी नै हुनुहुँदो रै’च।

पाठेघरको समस्याले ग्रसित। पत्थरीको कारण सधैं दुखाई बोकेर हिड्ने आमा। ८ सन्तानलाई जन्म दिएको वृद्ध शरीर। आमाका पीडा कति अरु थिए होला। हामीले थाहै पाएनौ, बुवाले पनि आमाको स्वास्थ्यमा चासो दिएको हामीले देखेनौ। उहाँहरूको सम्बन्ध संधै कामसँग हुन्थ्यो। खेतिपाति, मेला–पर्म, गाईवस्तु यस्तै मात्रै। आमाले बुवालाई आफ्नो स्वास्थ्य समस्या सुनाउनु भयो वा भएन थाहा भएन। तर आज म मेरो स्वास्थ समस्या हजारौंपटक सुनाउँदा पनि बेवास्ता गर्ने जीवनसाथीका कारण पीडामा छु मिस।’

‘मानसिक पीडामा छु’

‘म पछिल्लो सात महिनादेखि अत्यधिक मानसिक पीडामा छु । महिलाको स्वास्थको भर हुन्‍न रैछ। पाठेघरमा क्यान्सरको संक्रमण सुरु भएको छ। पहिलो स्टेजमा छ, जसको उपचार शतप्रतिशत सम्भव छ। श्रीमानलाई धेरैपटक भनें। उनले वास्तै देखाएनन्। एक पटक हैन, दुई पटक हैन धेरै भनें मिस। यही विषयमा ठूलै घरझगडासम्म भयो। तर उनी मेरो स्वास्थ्यप्रति पोजेटिभ देखिएनन्। बरु उल्टै मबाट टाढाटाढा भए।

अहिले त मेरो नजिक पर्दा पनि रोग सर्ला जस्तो गर्छन्। म भातभान्छामा लागे, उनी हत्तनपत्त बेडरुमतिर छिर्छन्। म बेडरुममा छु भने उनी बाहिरै अलमल गरिराख्छन्। अब त सल्लाह त परको कुरा बोलीचालि नै बन्द भएको ३ महिना हुनलाग्यो। एउटै घरमा बोलचालिविना दुस्मनजसरी बस्‍नुपर्दा साहै्र पीडाबोध हुन्छ। र, पनि सहनुको विकल्प देख्दिनँ।

भोलि मेरो स्वास्थ्य राम्रो भो भने त पहिलेकै जस्तो माया पाउछु कि भन्‍ने झिनो आसा पनि छ । किनकि उनीप्रति मेरो औधि‌ धेरै माया छ। म स्वस्थ हुँदा उनले पनि माया नै गर्थे। अहिले पनि उनको अन्त कतै लसपस छैन। हामी एकअर्कामा आशंका र आरोप पनि छैनन्। बस म रोगी भएँ। समस्या यहीँ जन्मियो।’

‘पैसाको समस्याले गर्दा टाढा भएको हो भने त्यसको चिन्ता नगर्नु, म म्यानेज गर्छु। मलाई भावनात्मक समर्थन दिनोस्। ममा बाँच्‍ने हिम्मत पलाउँछ कि भनेर धेरैपटक जीवनको भीख मागें। उनी पटक्कै पोजेटिभ भएनन्, न त कुनै प्रतिक्रिया नै पाएँ। डाक्टरले श्रीमान लिएर जँचाउन आउनुभन्दा पटक्कै मान्दैनन् जान। कुन्‍नि किन हो यतिविघ्‍न घृणा मलाई? मैले डाक्टरलाई श्रीमान वैदेशिक रोजगारमा भएकाले ल्याउन सकिनँ भनेर ढाँटिरहेको छु।’

‘अब के गरौं मिस, तपाईंं भन्‍नु न। छोराछोरी हेर्छु, अझै धेरै बाँचुबाँचु लाग्छ। ऊ (श्रीमान्) लाई सम्झन्छु अहिल्यै सुसाइड गरुँ झैँ लाग्छ। फेरि सोच्छु सुसाइड त काँतरले गर्छ । मैले त कैयौं आमा दिदीबहिनीलाई आत्मनिर्भर बनाएकी छु। आँट र हिम्मत दिएकी छु। उनीहरूको नजरमा ‘छि’ भन्‍ने काम किन गरुँ?’

मैले भनें– ‘हो नि, कहिल्यै हिम्मत हार्नुहुन्‍न।’

उनी भन्दै गईन्।

‘हेटौंडामा नै ३ महिना नियमित डाक्टरको फलोअपमा थिएँ। औषधि खाने, सुई लगाउने गरें। गाउँपालिकाको सिफारिस लिएर पनि धेरै औषधिउपचार निःशुल्क गरें। तर खासै उपलब्धि देखिएन। यो महिनादेखि भरतपुर क्यान्सर अस्पतालमा उपचार सुरु भएकोछ। संक्रमण नघटे पनि रोकथाम भैरहेको छ भन्छन् डाक्टर। मन बेचैन छ। रात पूरै अनिद्रामै बित्छ।

अचेल प्रोजेक्ट पनि सकिएकाले खाली छु। राति कम्प्युटरमा काम हुन्‍न। निद्रा लाग्दैन पटक्कै। शरीरिक पीडा भइराख्छ। मनमा झन् हजारौं कल्पनाहरू आउँछन्। मन भुलाउन कि त फिल्म हेर्छु कि त रोएरै रात काट्छु। मेरो सुत्‍ने कोठा छुट्टै छ। सुत्‍ने कोठा के भनुँ मन खोलेर रुने कोठा। ज्यानमा सन्चो हुँदा त म आफूलाई एकदम स्ट्रङ मान्छे लाग्थ्यो। अब बिस्तारै रोगले गाँज्दै आएपछि मन पनि कमजोर हुँदो रैछ। अचेल त रुनमात्रै आउँछ। छोराछोरी हेर्छु रुनै मात्रै आउँछ। कोही आफन्तलाई म आफैं नै मन खोल्न नसक्ने, कोही आफन्तले मन खोलेर भन्दा झन् बेवास्ता गर्ने। कोही यस्तो साथी होस् जसका सामु घण्टौं आनन्दले रोएर मन हल्का गरुँ भन्ने लाग्छ मिस।’

उनका आँखा अघिदेखि ओभाएका थिएनन्। अब गला पनि रोकिए। म पनि केहीबेर मौन बसें।

केहीछिनको सन्नाटापछि उनी फेरि बोल्न सुरु गरिन्।

‘माइतीमा आमा–बुबालाई मेरो पीडा सुनाउन चाहन्‍नँ, घरमा भनौं लावारिसे जस्तो। अंश लिएर छुट्टै बसेका छौ घरमा। तै पनि अभिभावक भनेका अभिभावक नै हुन्। सम्झाईबुझाई गर्छन कि भनेर बुवाआमा (सासुससुरा) लाई सबै कुरा सेयर गरे। उहाँहरूले झन् पीडादायी विकल्प निकाल्नुभो– डिभोर्सको। डिभोर्स गर। उपचार गर वा मर भन्‍ने टाइपको। ताकि म मरुँ वा निको हुँ उनीहरूको छोरालाई दोस्रो बिहेको लागि बाटो खुल्ला होस्। रोगी बुहारीले छोरो जोगी बनाउने भई भन्ने लाग्यो होला सायद। म भावनात्मक मायाको आसा, हिम्मत लिन गएकी झन् पीडादायी उत्तर (विकल्प) लिएर फर्किएँ।’

‘सामाजिक काममा भएकाले मेरो सामाजिक मानसम्मान पनि छ। त्यो मैले दिनरात नभनी गरेको मेहनतको उपज हो। त्यही मानसम्मान आज मलाई पीडा लुकाउने बाध्यात्मक दायरा बनेका छन्। म यदि सामान्य महिला हुँदो हुँ त धेरै पहिले ममाथिको मानसिक हिंसाको निराकरण गर्न प्रहरी वा अदालत गैसक्ने थिएँ। सबैले अशिक्षितलाई मात्रै हिंसा हुन्छ, पढेकालाई केही पीडा र समस्या नै हुन्‍न भन्छन्। आफ्नो खुट्टामा उभिएकी छ भन्छन्। मान्छे पैसामा मात्रै खुसी हुन्‍न, पारिवारिक मायाको महत्व कति खड्कदो रैछ, म फिल गरिरहेको छु।’

अहिले मैले मेरो पीडा बाहिर ल्याउदा ‘यत्तिको सामाजिक व्यक्ति यस्तो’ भन्‍ने सुन्‍नुपर्छ। परिवारमा ससुराबाको पनि राम्रो इज्जत छ गाउँमा। मेरो र परिवारको समेत इज्जत लिलामी हुन्छ। यतिसम्म पनि ठिकैथ्यो । मेरी आमा जसले मेरो सुखद भविष्यका लागि कत्ति कष्टकर समय गुजार्नु भयो। उहाँको मन कति रोला? यही सोचेर हर पीडा आँसुले धुन्छु, जुन दिनसम्म सक्छु हिड्छु। आफ्नो खर्चले उपचार धान्‍न नसकेको दिन सुसाईड गर्छु। तर उनको (श्रीमानको) खर्च कत्ति पनि मेरो उपचारमा लगाउँदिन भनेर प्रण गरेको छु मिस।’

‘तर नलेख्‍नु है मिस मेरो कुरा…’

उनी (जसलाई मैले पहिलोपटक भेटेको थिएँ) यसरी खुलिन कि उनी आफू बोलिरहने तर सुनिदिने कोही व्यक्तिको व्यग्र प्रतीक्षामा थिईन् वर्षौदेखि। उनले अरु धेरै कुरा भनिन्, मैले छोट्याएर लेखें। नलेख्नु भनेको कुरा लेखें। त्यसैले व्यक्तिको सबै नाम, ठेगाना, फोटो केही सार्वजनिक गर्न उत्तम लागेन। यसकारण यो घटना बाहिर ल्याउन मन लाग्यो किः हामीले सोचेजस्तो दुर्गम गाउँमा, गरिब झोपडीमा मात्रै हिंसा छैन। सहर–बजारका वस्तीमा, सामाजिक तथा प्रतिष्ठावान व्यक्तिमा पनि उत्तिकै पीडा छिपेका छन्।

यो पीडा ती महिला एक्लैको मात्र होइन, धेरै महिलाको साझा पीडा हो। आखिर महिलाको उपस्थितीलाई किन कमजोर ठान्छ परिवार । किन कमजोर ठान्छ राज्य ? नेपाल न्युजबाट साभार ।

Related Articles

Back to top button
Close