समाचार

मलेसियामा रोजगारी अवधि पूरा गरि स्वदेश फर्किने कामदारको सट्टा नयाँ कामदार लिने नियम लागु

मलेसियाले रोजगारी अवधि पूरा गरि स्वदेश फर्किने विदेशी कामदारको सट्टामा नयाँ कामदार लिने सम्बन्धी एक योजनाको घोषणा गरेको छ । मलेसियाली मन्त्रीपरिषद्ले हालै यससम्बन्धी निर्णय गरेको हो, यद्यपि यो नयाँ भने होइन । मानव संशाधन मन्त्री एम कुला गेसरनले रोजगारीको करार अवधि सकेपछि अध्यागमन कार्यालयमा ‘चेक आउट मेमो’ बनाएर स्वदेश फर्किएका कामदारको सट्टामा अन्य कामदार सहजै भर्ना वा प्रतिस्थापन गर्न मिल्ने गरि यसअघि सन् २०१७ कै योजनालाई पुनः कार्यान्वयनमा ल्याउन लागिएको बताएका छन् ।

मन्त्री कुलाका अनुसार मलेसियाली श्रम बजारमा कामदार अभाव पूर्ति गर्न यसअघिको सरकारले गत सन् २०१७ मा रोकेको योजना आगामी जुलाई १ देखि लागू गर्न लागिएको हो । यस योजना कार्यान्वयन भएमा अब मलेसियाली रोजगारदाताले आफ्ना कामदार स्वदेश फर्किए लगत्तै उनीहरुको स्थानमा नयाँ कामदार प्रतिस्थापन गर्न पाउनेछन् । यो योजना रोजगारीका सबैजसो क्षेत्रमा लागू हुने बताइएको छ । हाल करार अवधि पूरा गरेर फर्किने विदेशी कामदार फेरि ल्याउनुपरेमा नयाँ आवेदन पेश गरि सम्बन्धित मलेसियाली निकायबाट श्रम स्विकृति लिनुपर्दछ ।

त्यसो गर्दा अनुमति पत्र प्राप्त गर्न (एप्रुभल) झण्डै नौ हप्तासम्म समय लाग्ने र शुल्क पनि बढी लाग्ने गरेको छ । तर अब उक्त नयाँ योजनाअन्तर्गत रोजगारदाताले स्वदेश फर्कने कामदारको चेक आउट मेमोकै आधारमा सोही कोटामा नयाँ कामदारलाई रोजगारीमा भित्र्याउन पाउनेछन् । मलेसियाली सरकारको यो योजनाको विभिन्न सरोकारवालाहरुले स्वागत गरेका छन् । उनीहरुले कामदार अभाव पूरा गर्न सहज हुने र समय पैसा बचत हुने विश्वास व्यक्त गरेका छन् । ‘मुलुकमा बेरोजगार समस्या समाधान गर्न र कामदार अभाव पूर्ति गर्न सहायक हुनेछ । र यो छिटो कार्यान्वयन हुनुपर्दछ ।’

के हो ‘चेक आउट मेमो’ ?
मलेसियामा विदेशी कामदार स्वदेश फिर्नुअघि अध्यागमन विभागमा जानकारी गराईनुपर्ने अध्यागमन सम्बन्धी नियम छ । सम्बन्धित रोजगारदाताले आफ्नो विदेशी कामदार स्वदेश फिर्नुअघि निज स्वदेश फिर्न आवश्यक हवाई टिकट, राहदानी विवरणसहित अध्यागमन विभागमा दर्ता गराएपछि अध्यागमनले ‘चेक आउट मेमो’ प्रदान गर्ने गर्दछ । आफ्ना कामदारको चेक आउट मेमो नबनाएमा कामदार अझैसम्म पनि रोजगारदातासँग नै कार्यरत रहेको र निजका लागि रोजगारदाता नै जिम्मेवार रहेको ठानिने प्रावधान छ । उक्त मेमोकै आधारमा अब रोजगारदाताले नयाँ कामदार रिप्लेस गर्न अर्थात् प्रतिस्थापन गर्न पाउनेछन् ।

Related Articles

Back to top button
Close